शिक्षा समिति बैठक

2 years ago

शिक्षा समिति बैठक

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम कायम रहेसम्म विद्यालयमा शुल्क नलिन र पठनपाठन नगर्ने व्यवस्था गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कोरोना महामारीको राम्रोसँग आकलन नगरी विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन तथा औपचारिक रुपमा पठन पाठन नगर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण हाल विद्यालय बन्द रहेको छ । तर शहरी क्षेत्रका कतिपय विद्यालयले पठन पठान गराएको जानकारीमा आएकाले त्यस्तो गतिविधि रोक्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै सुविधासम्पन्न विद्यालयले अनलाइनमार्फत पढाउने गरेको भए पनि त्यो खालको सुविधा हिमाली र पहाडी क्षेत्रमा सम्भव नभएकाले पठन पाठन नगर्न नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको सभापति घर्तीले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले यस बर्ष एसइइ परिक्षा नलिन सरकारलाई सुझाव दिएका छन् । कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा(एसईई) खारेज गर्दा उपयुक्त हुने बताउनुभयो ।

त्यस्तै विद्यालय बन्द हुँदा भौतिक रुपमा मात्रै शिक्षक र विद्यार्थीबीच उल्लेख गर्दै सांसद थापाले विद्यालयबाहिर पनि सिक्ने सिकाउने वातावरण सिर्जना गर्न सकिने बताउनुभयो ।

बैठकमा सांसदहरुले अवस्था सामान्य नहुँदासम्मका लागि विद्यार्थीलाई विभिन्न माध्यममा अन्तरक्रियामा सहभागी गराउन सकिने तर विद्यालयबाटै सिकाएजस्तो सिकाउन नसिकने बताएका थिए ।