वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति भएन

2 years ago

वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति भएन

जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति नभएको बताउनुभएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गर्नुभयो । उहाँले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाउनुभयो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन थाल्यो भनेर दिएको अभिव्यक्तिले पार्लियामेन्टको बेईज्जत भएको टिप्पणी गर्नुभयो । कर्णले प्रधानमन्त्रीलाई हटाउने वा राख्ने नेकपाको आन्तरिक कुरा भएको पनि तर्क गर्नुभयो । कर्णले नेकपाको सरकारलाई आफूहरुले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको स्पष्ट पार्नुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको स्पष्ट पार्नुभयो ।

थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको बताउनुभयो । २०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनेको स्मरण गराउँदै उहाले  नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको स्पष्ट धारणा पनि राख्नुभयो ।