विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार

2 years ago

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार

राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । 

उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो । परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले वैज्ञानिक चेतना अभिवृद्धि गर्न र अन्धविश्वास तथा कुरीति हटाउन सामाजिक सञ्जालको प्रयोगमा जोड दिइएको छ ।

वृत्तचित्र तथा रेडियो कार्यक्रम, सडक नाटकजस्ता कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक, सञ्चार क्षेत्र, उद्योग व्यवसाय र प्राज्ञिक क्षेत्रका उच्च तहका नेतृत्वलाई एउटा मञ्चमा ल्याई विज्ञान प्रविधिलाई प्राथमिकता दिन वर्षमा दुई पटक उच्चस्तरीय छलफल गर्नेलगायतका कार्ययोजना तय गरेको हो ।

उक्त कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउने छ । बैठकमा मन्त्री श्रेष्ठले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व हुने अहं हुने भएकाले प्रस्तावित कार्ययोजनालाई कार्यान्वयनमा सम्बद्ध सबै मन्त्रालय र निकायको सहयोग आवश्वक रहेको बताउनुभयो । 

उहाँले सरकारले शिक्षा, विज्ञान र प्रविधिलाई सधैँ प्राथमिकता दिने र यसलाई प्रदेश र स्थानीय तहसम्म कार्यान्वयनमा लान आवश्यक रहेकामा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले यस क्षेत्रमा लगानी वृद्धिका साथै कार्यान्वयनका लागि क्षमतावृद्धि पनि सँगै गर्नुपर्ने बताउनुभयो । नीतिमा मन्त्रीको अध्यक्षतामा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका सचिव सम्मिलित २१ सदस्यीय परिषद् गठनको प्रस्ताव गरिएको छ ।