रू.४ अर्ब १५ करोड ६४ लाख ८९ हजार भरतपुर महानगरपालीकाको बजेट

2 years ago

रू.४ अर्ब १५ करोड ६४ लाख ८९ हजार भरतपुर महानगरपालीकाको बजेट

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रू.४ अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ ।

महानगरको बुधवार आयोजित छैटौं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये रू. ४८ करोड चालू खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रू. ६० करोड, आन्तरिक आय रू. ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रू.१ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रू. ४६ करोड १२ लाख ५१ हजार रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रममा आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाइ राष्ट्रको विकासमा टेवा पुर्‍याउने बजेटमा उल्लेख छ । बजेटमा आउँदो आर्थिक वर्षका लागि ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेनु दाहालले विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताउनुभयो ।

महानगरपालिकामा हालसम्म १४ ओटा ऐन, ६ ओटा नियमावली, ६ ओटा निर्देशिका, ३३  ओटा कार्यविधि, चार ओटा मापदण्ड तथा एक आचारसंहिता गरी ६४ ओटा कानून निर्माण भई कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो ।