रथयात्रा बिनाको खल्लो इन्द्रजात्रा

2 years ago

रथयात्रा बिनाको खल्लो इन्द्रजात्रा

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ ।  भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ ।

आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते  इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९:२५ बजेको दिइएको थियो ।

अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठमन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको हो । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।