रुकुम घटनाको दोषी उन्मुक्ति दिन नहुने भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले विरोध प्रदर्शन

2 years ago

रुकुम घटनाको दोषी उन्मुक्ति दिन नहुने भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले विरोध प्रदर्शन

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषी उन्मुक्ति दिन नहुने भन्दै  संयुक्त राजनीतिक दलित संघर्ष समितिले विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै समितिले बुधबार पनि माइतिघरमा बृहत प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा बिभिन्न दलका नेता, सांसद लगाएतको सहभागीता थियो । उनीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप पनि लगाएका थिए । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जातिय भेटवाद विश्वकै इतिहासकै कलंकको रुपमा रहेको भन्दै यसलाई जरैदेखि निर्मुल पार्नुपर्ने बताउनुभयो । उहाँले रुकुम घटना छानविनका लागि संसदीय समिति गठन गरेपनि समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका जनाउनुभयो ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।