युवाहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप

2 years ago

युवाहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप

काठमाडौंको नक्सालमा सरकारको विरोधमा उत्रिएका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहिबार नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकारीले पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटि परीक्षण पूर्ण रुपमा बन्द गर्नुपर्ने,कोरोना नियन्त्रणमा खर्च गरिएको रकमको विवरण सार्वजनिक नगरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले नक्सालमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । उनीहरुलाई प्रहरी हेडक्वाटर नजिक पुर्‍याएपछि प्रहरीले लाठी चार्ज गर्नुकासाथै चार/पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा समेत प्रहार गरेका हो । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएको भन्दै प्रदर्शनकारीले नारा लगाएका थिए ।

लकडाउनका बेला पनि कर लगाउने सरकारी निर्णयको पनि उनीहरुले विरोध गरेकाछन् । त्यस्तै जनता रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेको र सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।