युट्युबले एक करोड १४ लाख भिडियो हटायो

2 years ago

युट्युबले एक करोड १४ लाख भिडियो हटायो

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याङ्कनका आधारमा ती भिडियोहरू हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरू हटाइएको हो ।

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनुपरेको कम्पनीको तथ्याङ्क छ । “समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरू बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।