भारतद्धारा ‘रेमेडिसिभर’ को सहयोग

2 years ago

भारतद्धारा ‘रेमेडिसिभर’ को सहयोग

भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ ।

मंगलबार नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दुईहजार थान रेमेडिसिभर हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयम् प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु दुई देशबीच भरपर्दो मैत्रीको प्रतीक भएको बताउनुभयो । उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट निरन्तररुपमा प्राप्त सहयोगको सराहना गर्नुभयो ।

राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आफ्नो क्षमताले भ्याएसम्म हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो देशको ‘छिमेक पहिले’ नीतिअनुरुप थोरै भएपनि नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताउनुभयो ।

चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार  ‘अक्सिजन थेरापी’मा रहेका सङ्क्रमितको उपचारमा रेमेडिसिभर प्रयोग गरिन्छ ।