बिशेष बजेट सम्बोधन

2 years ago

बिशेष बजेट सम्बोधन

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोनाका कारण प्रभाव परेको क्षेत्रमा आगामी बजेटले बिशेष सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । 

पार्टी कार्यालय सानेपामा बुधबार कांग्रेस संसदीय दलले आयोजना गरेको अर्थतन्त्रमा सरोकार राख्नेहरूसँग गरेको छलफलमा देउवाले दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रलाई सुधार गर्नका लागि आगामी बजेट आउनुपर्ने बताउनुभएको हो ।

देउवाले कोरोनाले अर्थतन्त्रलगायत क्षेत्रमा असर पुर्‍याएको बताउनुभयो । छलफलमा देउवाले कोरोनाले गर्दा रेमिट्यान्सदेखि रोजगारी गुमाउनेसम्मका असर देखिएको जिकिर गर्नुभयो ।

कोरोनाले विश्वका अरू देशजस्तै नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै देउवाले राज्यले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उद्योगी, व्यवसायीले बैंकको व्याजदर घटाउन माग गरेको भन्दै देउवाले यसबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेर कुराकानी गर्ने पनि बताउनुभयो । भौतिक पूर्वाधारका काम ठप्प, आन्तरिक तथा बाह्य पर्यटक आवागमन ठप्प र बेरोजगारी समस्याले नेपाललाई थप अप्ठेरोमा पार्ने उहाले बताउनुभयो ।

छलफलमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कृषि, उद्योग र नेपाल बाहिर रहेका नेपालीहरुलाई निकै असर परेको भन्दै अवको राज्यको नीति अर्थतन्त्रको सुधारमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रेमिट्न्यास पनि कम हुने देखिएको र नेपालका उद्योगधन्दाहरु पनि ठप्प रहेको अवस्थामा आउने समयमा समस्या देखिने बताउनुभयो ।

छलफलपछि कांग्रेसले कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको छ ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ ।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने कांग्रेसले जनाएको छ ।