बाढीले १५ घर बगायो, २३ जना भन्दा बढी बेपत्ता, २ जनाको मृत्यु

2 years ago

बाढीले १५ घर बगायो, २३ जना भन्दा बढी बेपत्ता, २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने २३ जना भन्दा बढी बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाउदा बेपत्ता भएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु छोरी रहेको बताइएको छ ।

अहिलेसम्म २३ जना बेपत्ता छन् । जम्बुमा मात्रै १९ जना बेपत्ता छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरूको खोजी कार्य  गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राति ११:३० बजेबाट बाढी आउँदा उक्त क्षति भएको हो ।

प्रहरीका अनुसार रातभर परेको वर्षाले तातोपानीस्थित चाकुबजारनजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्रबिसे नगरको जलेटार आर्मी ब्यारेकमुनिको  सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भर्खरै  लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउँदा सडक सम्बन्ध टुटेको छ ।