प्राविधि क्षमता विवरण उपलव्ध गराउन निर्देशन

2 years ago

प्राविधि क्षमता विवरण उपलव्ध गराउन निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्चीको पानी सुन्दरीजलबाट सर्वसाधारणको घर–घरमा पुराउनका लागि जडान भएका पाइपको प्राविधि क्षमता विवरण उपलव्ध गराउन निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पुराना पाइप जिर्ण अवस्थामा रहेको भन्दै नयाँ जोडिएका पाइपहरुको प्राविधि क्षमता जाँच गरि विवरण उपलव्ध गराउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बिकास समितिलाई निर्देशन दिएको हो ।

बैठकले स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्ची सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । समिति सभापति कल्याणी खड्काले मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने प्रयासमात्र देखिएको भन्दै यसले मात्र नपुग्ने र अन्य देखिएका समस्या पनि समाधान गर्न निर्देशन दिनुभयो ।

बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने दोहराउनुभयो ।  अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको भन्दै उहाले असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले लामो समयदेखि मेलम्चीको पानी आउने चर्चा चलेपनि अझैपनि ल्याउन नसक्नुले जनता निराश भएको बताएका थिए । उनीहरुले मेलम्ची आउन ढिलाई भएको कारणबारे प्रश्न गरेका थिए ।

त्यस्तै मेलम्ची खानेपानी बिकास समितिका प्रतिनिधिहरुले सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी रहेको जानकारी गराएका थिए । मेलम्ची आयोजनाको प्रगतिको बारेमा समितिले सरोकारवाला निकायसंग छलफल गरेको हो ।