पर्यटन क्षेत्रमा ४१ अर्बको क्षति हुने अनुमान

2 years ago

पर्यटन क्षेत्रमा ४१ अर्बको क्षति हुने अनुमान

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले लकडाउनमा अवधिमा पर्यटन क्षेत्रमा ४१ अर्बको क्षति हुने अनुमान गरेको जनाएको छ ।

चैत ११ देखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयले  पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनअनुसार मासिक १० अर्ब क्षति भएको अनुमान गरिएको जनाएको हो । हालसम्म ३४ अर्ब क्षति भएकोमा साउन ७ सम्मको लकडाउनमा थप ७ अर्व खर्च भई कुल ४१ अर्ब क्षति हुने अनुमान गरिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताउनुभयो ।

मन्त्रालयले हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण अर्थ मन्त्रालयमा पठाएको जनाएको  छ । जसअनुसार पुनर्कर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको, होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्याएको लगाएत छन् ।

मन्त्रालयले लकडाउनको समयमा पर्यटन क्षेत्र ठप्प भए पनि उद्धार र विकासका कामलाई निरन्तरता दिएको बताएको छ । पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्र खेल्नेसम्बन्धी निजी क्षेत्रका व्यवसायीसँग छलफल भइरहेको बताउनुभयो । मन्त्री भट्टराईले लकडाउनको समयमा विमानस्थलको कामले निरन्तरता पाएको  जानकारी दिनुभयो । 

कोभिड १९ को प्रतिकूलका बाबजुद राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाई निरन्तरता दिइएको मन्त्री भट्टराईले बताउनुभयो ।

उहाँले पर्यटन बोर्डको समन्वयमा चैत ११ गतेदेखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरूलाई हवाइ मार्गबाट ९५० र सडक मार्गबाट ८७९ विदेशी नागरिकलाई सडक यातायातमार्फत उद्धार गरिएको बताउनुभयो ।

यस्तै, देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको मन्त्रालयले जनाएको छ ।  पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर कोष बनाइएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।