प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्दैछन् मोबाइल सेवाप्रदायक

2 years ago

प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्दैछन् मोबाइल सेवाप्रदायक

सेवा प्रदायकले यदि सरकारको नियम पालना गरेको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो तर नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा आएको निर्देशिकालाई उनीहरुले कुल्चिरहँदा दुरसञ्चार प्राधिकरणले कारवाही गर्न सकेको छैन ।

एउटा सेवा प्रदायक कम्पनीको मोबाइलबाट अर्को सेवा प्रदायक कम्पनीको मोबाइलमा फोन गर्दा फरक-फरक नेटवर्कहरु जोडिएका छन् । यस्ता फरक नेटवर्कहरुमा कल गर्दा अहिले मँहगो शुल्क लाग्छ । नेपाल टेकिलम, एनसेल र स्मार्ट सेलले एक-अर्काको नेटवर्कमा फोन गर्दा आफ्नै नेटवर्कको फोनमा लाग्ने भन्दा मँहगो शुल्क लिने गरेका छन् ।

नयाँ निर्देशिकाले मोबाइलबाट मोबाइलमा र ल्यान्डलाइन फोनबाट मोबाइलमा हुने कलको अन्तरआवद्धता शुल्क घटाउनुपर्ने व्यवस्था गरेको थियो । नयाँ नियमअनुसार दुबै किसिमका अन्तरआवद्धतामा १० पैसा प्रतिमिनेट मात्रै शुल्क कायम हुनुपर्ने हो । एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइल नेटवर्कमा हुने कलमा अहिले लिइँदै आएको अन्तरआवद्धता शुल्क प्रतिमिनेट ४४ पैसा घट्नुपर्ने हो ।

सेवा प्रदायकहरुले अहिले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा ५४ पैसा अन्तरआवद्धता शुल्क जोडेर ब्यालेन्स काट्छन् । तर, सरकारी नियम अनुसार प्रतिमिनेट १० पैसा मात्रै काट्न पाइन्छ । जस्तो कि अहिले नेपाल टेलिकमको प्रिपेडबाट एनसेल वा स्मार्ट सेलमा फोन गर्दा मिनेटको २ रुपैयाँ लाग्छ । यो शुल्क घटेर प्रतिमिनेट १.५६ रुपैयाँमा झर्नुपर्ने थियो । पोस्पेडबाट १.५० रुपैयाँ लाग्छ भने त्यो घटेर १.०६ पैसामा ओर्लिनुपर्ने हो ।