नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह : नर्सिङ संघ

2 years ago

नर्सहरुको  सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह : नर्सिङ संघ

नेपाल नर्सिङ संघले कोरोना महामारीका बेला जिम्मेवारीमा रहेका नर्सहरुको  सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो । संघकी अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरुले घर र अस्पतालको जिम्मेवारी सँगसँगै निर्वाह गरिरहनुपरेको भन्दै बढी जोखिम रहेकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । त्यस्तै कोरोनामा निरन्तर खटिने नर्सहरुको सुविधा कटौती नगर्न पनि आग्रह गर्नुभयो । उहाँले नर्सहरुको समस्याका बारेमा सरकारलाई जानकारी गराइसकेको र सरकारले उचित सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिले महामारीविरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरुले उचित जिम्मेवारी निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।