नेपालीहरुलाई स्वदेश फर्काउन नसकिने

2 years ago

नेपालीहरुलाई स्वदेश फर्काउन नसकिने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमणको जोखिम कायम रहेसम्म बिदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकिने बताउनुभएको छ । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा प्रयाप्त कोरोना परिक्षण हुन नसकेको अवस्थामा र नेपालमा कोरोना संक्रमणको जोखिम कायम रहेसम्म बिदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकिने बताउनुभएको हो ।

उहाले नेपालमा कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सक्ने अवस्था आए नेपालीहरुलाई ल्याइएने बताउनुभयो । अहिले जहा छन् त्यही नै सुरक्षित रुपमा राख्ने नीति रहेको उहाले बताउनुभयो ।

मन्त्री ज्ञवालले बिभिन्न देशमा रहेका दुतावासका साथ गैर आवासीय नेपाली संघ लगाएतले बिभिन्न देशमा रहेका नेपालीहरुलाइ राहत वितरण गरिरहेको दावी पनि गर्नुभयो ।

सकेसम्म संक्रमण हुनबाट रोक्ने र संक्रमण भइहाले उचित उपचारको व्यवस्था दुतावासले गर्ने उहाको भनाई छ । बैठकमा श्रममन्त्री रामेश्वर राय यादव बिभिन्न देशमा रहेका नेपालीहरुलाई सरकारले वेवास्ता नगरेको बताउनुभयो ।

उँहाले मलेसियाबाट सात हजार, कतारबाट ५० हजार, साउदीबाट २० हजार, युएइबाट १२ हजार , कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार र ओमानबाट ५ हजार नेपालीहरु स्वदेश फर्कने देखिएको जानकारी दिनुभयो ।

अहिलेको अवस्थामा झण्डै चार लाख नेपालीहरु नेपाल फर्कन सक्ने उहाले बताउनुभयो । त्यस्तै बैठकमा सांसदहरुले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

लकडाउनका कारण वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको अवस्था दयनिय भएको भन्दै समितिले उनीहरुको अवस्था र राहतका बारेमा सरकारसंग जानकारी लिएकोे हो ।