नेकपा सचिवालय बैठक

2 years ago

नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अनिश्चित भएको छ ।  बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएपछि बैठक नै अनिश्चित भएको हो ।

बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि २० गते बसेको सचिवालयको निर्णय अनुसार स्थायी समिति बस्नका लागि अझैपनि गृहकार्य जारी रहेको जानकारी अध्यक्षद्वयले गराउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किनुभएको थियो । प्रवक्ता श्रेष्ठले बैठकमा सके सबैजना बस्ने र सकिएन भने बैठकबाट निष्कने प्रावधान रहेको भन्दै प्रधानमन्त्रीले व्यवस्ता र शारिरीक कारण देखाउदै बैठकबाट निस्कनुभएको जानकारी पनि दिनुभयो ।

नेकपाले बिहिबार ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाएको थियो । पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा विवाद चुलिएको छ ।

दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रमक देखिनुभएको छ ।