दलित युवा बिद्यार्थीहरुद्धारा विरोध प्रदर्शन

2 years ago

दलित युवा बिद्यार्थीहरुद्धारा विरोध प्रदर्शन

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोधमा बुधबार पनि काठमाडौंमा बिरोध प्रर्दशन भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै दलित युवा बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

उनीहरुले अन्तरजातिय विवाहका कारण दलितको मृत्यु कहिले सम्म भन्दै सरकारलाई प्रश्न गरेका थिए । यहि जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिइसकेको छ ।

भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्दीप बिक बेपत्ता छन् । बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिमप्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ । घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानबिन समिति बनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केटी पक्षका २० जनाकाविरुद्ध किटानी जाहेरी परेको छ ।