तरकारी र फलफूल नष्ट गर्नेलाई कारवाही

2 years ago

तरकारी र फलफूल नष्ट गर्नेलाई कारवाही

कोरोनाको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशका बिभिन्न स्थानमा ठूलो मात्रामा कृषिजन्य वस्तु नष्ट गरिएको भन्दै तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानून बमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोनाबाट समस्यामा परेका किसानलाई आवश्यक राहत तथा क्षतिपूर्ति दिन निर्देशन दिएको छ भने वास्तवितक कृषकलाई उत्पालनका आधारमा सरल ढंगले अनुदान उपलव्ध गराई कृषकहरुलाई बिउ तथा मल र नविनतम प्रविधी समयमा नै उपलव्ध गराउने र कृषकको लागतको आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरि बजारीकरण गर्ने व्यवस्था गर्न पनि सरकारलाई दिर्नेशन दिएको छ ।

बैठकले  कोरोनाका कारण समस्यामा परेका पोल्ट्री किसानहरुलाई सामान अभावका बहानामा गुणस्तरहिन सामान बेचेको देखिएको भन्दै कुखुरा पालक किसानलाई गुणस्तरीय दाना उपलव्ध गराउन दाना उद्योगीलाई आग्रहका साथै गुणस्तरको अनुगमन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिनुभयो ।

बैठकमा कृषिमन्त्री घनश्याम भूषालले किसानलाई राहत दिने गरि एक्सन प्लान बनिरहेको जानकारी दिनुभयो । उहाँले किसानलाई मल उपलब्ध गराउने, बजारीकरण गर्ने लगाएतमा सरकार केन्द्रीत रहेको भन्दै निराशा हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले तरकारी र फलफूलको ओसारपसारमा अवरोध नहुने भन्दै अवरोध गर्नेलाई कारवाही गरिने बताउनुभयो । बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक खाद्य वस्तुको निर्यातमा कुनै अवरोध नहुने बताउनुभयो । उहाँले आधारभूत खाद्य वस्तुको ढुवानी र आपूर्ति रोक्नेलाई कारवाही गर्ने उल्लेख गनर्’भयो ।

समिति बैठकले लकडाउनको बेला खाद्य वस्तुमा हुने गरेको मिसावट रोक्न र निरन्तर अनुगमन गर्न उद्योग मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।