ठूला तारे होटल र साना होटलहरु बीच विभेद :होटल व्यवसायी महासंघ

2 years ago

ठूला तारे होटल र साना होटलहरु बीच विभेद :होटल व्यवसायी महासंघ

होटल व्यवसायी महासंघ नेपालले कोभिड– १९को विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको भन्दै आपत्ती जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विदेशबाट आउने नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्न तारे होटलमा महंगो शुल्क तिर्न बाध्य पारिएको र साना होटलहरुलाई बेवास्ता गरि भेदभाव गरेको जनाएको हो ।

व्यवसायीहरुले तीनवटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् । त्यस्तै महासंघले लकडाउनको अवधीको घरभाडा छुट नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गर्नुभयो ।

उहाँले लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने माग गर्नुभयो ।

त्यसैगरी एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने महासंघको माग छ ।