जेष्ठ नागरिक सुरक्षा भत्तालाई निरन्तरता दिने

2 years ago

जेष्ठ नागरिक सुरक्षा भत्तालाई निरन्तरता दिने

सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन गरेको बताउनुभयो । कोरोनाबाट अर्थतन्त्र आहात बने पनि सामाजिक सुरक्षा भत्तामा कटौती नगरिएको अर्थमन्त्रीले घोषणा गर्नुभएको हो । वृद्ध, अशक्त, एकल महिला लगायतले सामाजिक भत्ता पाउनेछन् ।

उहाँले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गर्नुभयो । त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताउनुभयो । गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्दै यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गर्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएको कारण दैनिक जनजीवनमा परेको प्रतिकूल प्रभावलाई सहज तुल्याउन सरकारले ल्याएको तत्काल राहत कार्यक्रमलाई संक्रमण जोखिम रहँदासम्म निरन्तरता दिने उहालेब ताउनुभयो ।

घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्र बैंकमार्फत सञ्चालन हुने यो कोषमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।