जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता

2 years ago

जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

२५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताउनुभयो । 

मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने आँैल्याउनुभयो । देशको आधा हिस्साभन्दा बढी सङ्ख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेषरूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पु¥याउन सकिने उहाँको भनाइ थियो ।

विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ रहेको छ । सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन् । नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ ।