उच्च सतर्कता अपनाउन संसद बैठकमा जोड

2 years ago

उच्च सतर्कता अपनाउन संसद बैठकमा जोड

सभामुख अग्निप्रसाद सापकोटाले उच्च सतर्कता अपनाई संघीय संसद बैठक सञ्चालन गरिएको बताउनुभएको छ । 

शुक्रबार बिहान संचारकर्मीसंग कुरा गर्दै सभामुख सापकोटाले कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको र उच्च सतर्कता अपनाइएको बताउनुभएको हो ।

बैठक कक्षभित्र दूरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टिमको मापदण्ड अनुसार उचित व्यवस्था गरिएको बताउनुभयो । उहाले २८ गते ११ बजे प्रतिनिधि सभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने समेत बताउनुभयो ।

२८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी (प्रि–बजेट) प्रस्तुत गर्नुहुने छ ।

त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रि–बजेट माथि छलफल सुरु हुने छ । २९ र ३० गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताउनुभयो ।

त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

 जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने सभामुख सापकोटाले बताउनुभयो ।

जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७\०७८ को बजेट प्रस्तुत हुने छ ।

सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम् बनाउने विषयमा आफुले अधिकतम पहल गर्ने समेत बताउनुभयो ।