आगामी आर्थिक वर्षको बजेट छलफल

2 years ago

आगामी आर्थिक वर्षको बजेट छलफल

सांसदहरुले लकडाउनपछि थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै उनीहरुले आर्थिक वर्षको बजेटमा विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी विशेष व्यवस्था गर्न आग्रह पनि गरे ।

सांसद सीतादेवी यादवले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्दै यसको जोखिमबाट नागरिकलाई सुरक्षित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिन जरुरी भएको बताउनुभयो । उहाँले कोडिभ–१९ परीक्षणको दायरा बढाउन आवश्यक स्रोतसाधन सम्पन्न बनाउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले भारतलगायत विदेशी मुलुकमा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो। उहाँले कोभिडका सङ्क्रमित बढिरहेका पर्साको वीरगञ्जलगायत क्षेत्रमा आवश्यक स्वास्थ्य पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो।

सांसद विमलप्रसाद श्रीवास्तवले कृषि उत्पादनलाई बढोत्तरी हुनेगरी आगामी आवको बजेट नीति तथा कार्यक्रम समेटिनुपर्ने बताउनुभयो। सांसद रामकुमारी चौधरीले कोभिडको परीक्षण दायरा द्रुतगतिमा बढाउन सरकारलाई आग्रह गर्नुभयो।

सांसद पुष्पा भुसालले कोभिड–१९ को महामारीबाट असुरक्षित बनेको नागरिकको स्वास्थ्य र शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गर्नुभयो ।