असार १५ बाट दिनमा १० हजारको संख्यामा पिअिसार परीक्षण गर्ने व्यवस्था

2 years ago

असार १५ बाट दिनमा १० हजारको संख्यामा पिअिसार परीक्षण गर्ने व्यवस्था

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण गर्ने रिर्पोट दिने दाबी गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले पिसिआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताउनुभएको हो । असार १५ सम्म सातै प्रदेशमा ठूलामेसिन जडान गरिने उहाँको भनाई छ ।

उहाँले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबि गर्दै केही दिनमा परीक्षणमा भुटानभन्दा राम्रो हुने उल्लेख गर्नुभयो । मन्त्री ढकालले आरडिटी परिक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको जिकिर गर्नुभयो ।

ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको १० अर्ब खर्च भएको बताउनुभयो । ६ सय ४१ स्थानीय तहको खर्च मात्रै यसमा समावेश भएको भन्दै उहाँले रकम क्वारेन्टाइन बनाउनेदेखि आन्तरिक कामका लागि पनि यो खर्च भएको बताउनुभयो ।

ढकालले जुनसुकै कारणले मृत्यु भएपनि मृतकमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर मृत्युपछि पनि पीसीआर टेष्ट गरिने बताउनुभयो । मन्त्री ढकालले हालसम्म २ लाख ५७ हजार ९ सय ६२ को कोरोना स्वास्थ्य परीक्षण गरेकोमा १ लाख ९ सय ७१ पीसीआर विधिबाट परिक्षण गरेर जानकारी दिनुभयो ।