अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन

2 years ago

अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताउनुभयो ।

मन्त्री डा खतिवडाले कोरोना सङ्कट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्नेमा अर्थतन्त्रको विकासमा भर पर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको राजश्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजश्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण अवगत गराउनुभयो ।

सरकारले आगामी वर्षका लागि रु १० खर्ब ११ अर्बको राजश्वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । त्यस्तै बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७  माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको छ ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव  स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार ८ गते अपराह्न १ बजे बोलाइएको छ ।