अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने बारे छलफल

2 years ago

अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने बारे छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्यहरुले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरुले कूटनीतिक सम्वादमा जोड दिएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा धारणा राख्ने सदस्यहरुले  छिमेकी भारतसँग प्रभावकारी रुपमा कुटनीतिक ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका हुन् । सदस्यहरुले लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगाएत बिभिन्न स्थानमा रहेका सीमा समस्याहरु पनि एकमुष्ट रुपमा समाधान गर्नुपर्ने बताएका थिए ।

सवैदलहरु राष्ट्रिय सहमति कायम गरि नेपालको नक्सामा अतिक्रमित भूमि समावेश गर्न सरकार सफल भएको र अव अन्य बिषयमा मित्रराष्ट्रदेशसंग प्रभावकारी ढंगले छलफल गर्नुपर्ने धारणा नेताहरुले राखेको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग सरकारले प्रभावकारी वार्ता गर्नुपर्ने सुझाव दिएको भट्टराईले बताउनुभयो ।

बैठकमा परराष्ट्रमन्त्री रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले भारतलाई सीमा वार्ताबारे पटकपटक आह्वान गरे वार्ता गर्न इच्छुक नदेखिएको बताउनुभएको थियो । भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको उहाको भनाई थियो ।

भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको पहल गरिरहेको जानकारी बैठकमा दिनुभएको स्थायी समिति सदस्य भट्टराईले जानकारी दिनुभयो। शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुहन्थ्यो ।

कार्यव्यस्तताका कारण अनुपस्थित भएको र बैठकमा भएका छलफल प्रधानमन्त्रीलाई जानकारी गराउने व्यवस्था गरिएको भट्टराईले बताउनुभयो । शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए । स्थायी कमिटीको बैठक अब शनिबार ११ बजे बस्नेछ ।