म्यानमारमा सैनिक ‘कू’विरुद्धको प्रदर्शनमा सेनाले गोली चलाउँदा थप ३८ जनाको मृत्यु

3 years ago

म्यानमारमा सैनिक ‘कू’विरुद्धको प्रदर्शनमा सेनाले गोली चलाउँदा थप ३८ जनाको मृत्यु

म्यानमारमा सैनिक ‘कू’को विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ । बुधवार सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएको बीबीसीले जनाएको छ ।’

बुधवारको प्रदर्शनमा मारिनेमा १४ र १७ वर्षका किशोर समेत रहेका बालबालिकासम्बन्धि अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले जनाएको छ । अर्की एक १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

मध्य म्यानमारको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना मारिएका र कम्तीमा ३० जना घाइते भएका छन्। त्यसैगरी याङ्गुन, मान्डले र मिइनजानमा थप प्रदर्शनकारीको ज्यान गएको समाचारमा जनाइएको छ।

सेनाको हिंसात्मक दमनको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । बुधवारको घटनालाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ। उक्त हिंसापछि बेलायतले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ। यसअघि आइतवारको हिंसामा १८ जना मारिएका थिए।