कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

3 years ago

कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

काठमाडौंको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।

अत्याधिक ट्राफिक जाम हुने अरनिको राजमार्गअन्तर्गत जडिबुटीबाट कोटेश्वर हुँदै सातदोबाटो जाने छुट्टै लेन र कोटेश्वरबाट जडिबुटी हुँदै पेप्सीकोला जाने अर्को लेन बनाउनका लागि धमाधम काम भइरहेको छ ।

राजधानी भित्रिने मुख्य पूर्वी नाकाका रूपमा रहेको कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य सुरु भई ट्र्याक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौंले जनाएको छ । सो सडकखण्डको कुल लम्बाइ पाँच सय मिटर रहेको छ ।

अबको एक हप्ताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुने र त्यसलगत्तै सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिने डिभिजनले जनाएको छ । उक्त सडकखण्ड विस्तारका लागि सडकको उत्तरतिर एक लेन र दक्षिणतिर तीन लेन विस्तार गर्ने गरी जग्गा अधिग्रहण गरिएको हो ।

यो सडक खण्डको विस्तार कार्य कुल १२ करोड रुपियाँ लागतमा भइरहेको छ भने साढे सात रोपनी जग्गा अधिग्रहण गरिएको छ ।